कोरोना खोप आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत आज (आइतबार)देखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई लगाउन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेदेखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ ।
सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएको थियो ।
यसैबीच स्वास्थ्य मन्त्रालयले काठमाडौंका १२ अस्पतालमा खोप केन्द्र तोकेको छ । वीर अस्पताल, सिभिल अस्पताल मिनभवन, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, प्रसूति गृह थापाथली, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप केन्द्र तोकेको छ ।
त्यस्तै वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल लाजिम्पाट, शहीद गंगालाल अस्पताल बाँसबारी, नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी र काठमाडौं मेडिकल कलेज सिनामंगलमा खोप केन्द्र तोकिएको हो । खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया