‘तिमी मेरो डियर जिन्दगी, आई लभ यू’

हरेक प्रेमी प्रेमिकाका लागि फेब्रअरी १४ विशेष रहन्छ । भनिन्छ, प्रेम स्वतः हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । जब कसैलाई साँचो प्रेम गरिन्छ तब त्यहाँ न जात ले रोक्छ, न भूगोलले न त धनले नै । त्यसैले होला, मैले तिमीलाई माया गरिरहेकी छु ।
हामी भौगोलिक रुपमा टाढा भएपनि तिम्रो सम्झना हरेक पल आइरहन्छ । तिमीसँग भेटेर मायाको संसारमा हिँडेको एक महिना मात्रै भयो । तर, यो माया धेरै पूरानो जस्तो लाग्छ ।
पहिलो पटक तिमीलाई भेट्दा त्यो मुहार मेरो जीवनाका लागि अमूल्य थियो । त्यसपछि मेरो मानसपटलमा आइरहने धेरै कुराहरु मध्ये तिम्रो याद भने निकै प्रष्ट भएर आइरहेको हुन्छ, बुझेऊ तिमीले ! मैले तिमीलाई सम्झिरहनुमा एउटा मात्रै कारण छ–त्यो हो म तिमीलाई माया गर्छु । हर पल हर साँझ ।
दिनलाई त रातको छाँयाले अँध्यारो पार्छ, तर तिमीलाई माया गर्ने मेरो मन कहिल्यै अँध्यारो भएन । किनभने म तिमीलाई माया गर्छु र सहजै स्वीकार गर्न सक्छु तिमी मेरो डियर जिन्दगी हौ !
के गर्ने यो दुरी अनि कामको चाप ! हेलो …हाई गर्ने एउटा माध्यम सामाजिक सञ्जाल फेसबुक मात्र ।
विभिन्न परिस्थितिहरुको दोभानका कारण तिमीलाई भेट्न सकिन । भ्यालेन्टाइन सप्ताह पनि फेसबुक म्यासेन्जरकै सहारामा बित्यो । त्यसो त आज १४ फेब्रअरी भ्यालेन्टाइन डे (प्रणयदिवस) । आज त तिमीलाई जे होस् भेट्छु र सरप्राइज दिन्छु भन्ने योजनामा थिएँ । तर, तिमी भने कामको सिलसिलमा उपत्यका बाहिर अनि फोन गरेरै भ्यालेन्टाइन मनाउनुपर्ने बाध्यता ।
‘भ्यालेन्टाइ डे’ किन मनाइन्छ थाहा छ, तिमीलाई ? चोखो प्रेम र पवित्र प्रणय बन्धनलाई ईश्वरीय कमाई ठान्ने एक पादरीको त्याग नै भ्यालेन्टाइन दिवसको सार हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयको घोषणाविरुद्ध विद्रोह गर्दै पादरीले गरेको त्याग नै भ्यालेन्टाइन दिवसको महत्वपूर्ण पक्ष हो ।
प्रेम र विवाहलाई प्रतिबन्ध लगाउने सम्राटको आज्ञा थियो । उनले युवा प्रेम र विवाहतिर लागे सैनिक प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर, भ्यालेन्टाइन भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । पदारी भ्यालेन्टाइन भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् यसमा युवा युवतीका जोडीहरु तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवादास्पद कार्यक्रम सम्पन्न गरे ।
राजाको निषेधाज्ञा तोडेको आरोपमा उनलाई ईपू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पदारीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।
त्यसो त भ्यालेन्टाइन डे कुनै धर्मग्रन्थमा उल्लेख छैन । यो त मानिसको प्रेम गर्ने नैसर्गिक अधिकारको पर्व हो । साथै यो पश्चिमी संस्कृति हो, तर भ्यालेन्टाइनले युवाहरु माझ मान्यता पाएकै छ । यसको जतिसुकै विरोध गरेपनि यसको लोकप्रियता झन्झन् बढ्दै गइरहेको छ ।
त्यसैले त आज उपत्यकाका विभिन्न प्रेमील ठाउँहरुमा ती जोडीहरुको बढो रंगीन जमघट छ । तर, तिमी यहाँ छैनौं…..अनि मैले तिमीलाई सम्झनुबाहेक अरु केही छैन ।
प्रेमको दियो निभ्न नदिने महान् सहिदको सम्झनामा र आफ्नो प्रेमको दियो बालिरहन र प्रेमलाई अझ प्रगाढ बनाउन म हरसम्भव कोशिस गर्ने छु ।
तिमीलाई एउटा कुरा भनिहाल्छु, माया त जीवनको ईन्द्रधनुष जस्तै हुनुपर्छ, जहाँ जीवनका सम्पूर्ण रङ्गहरु समाहित हुन सकोस्, हो मैले तिमीलाई त्यस्तै माया गरेकी छु । तिमीलाई माया गरेदेखि मलाई दिन मात्र होइन रात पनि निकै सुन्दर लाग्छ । कहिले तिम्रो सपना देख्छु कहिले सुन्दर जून र ताराहरु फुलाइदिने आकाशको बगैँचा हेरीहेरी तिमीलाई सम्झेर बसिरहन मन लाग्छ ।
“ह्याप्पी भ्यालेन्टाइन डे डियर”
प्रतिक्रिया