बारीमै थन्कियो किसानले उत्पादन गरेको अदुवा

तनहुँ । तनहुँका किसानले उत्पादन गरेको अदुवा बारीमा नै थन्किन थालेको छ। अदुवा किन्ने व्यापारी नआएपछि उनीहरु चिन्तित हुन थालेका हुन्।
उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको किसानको गुनासो छ।
गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको किसानको दःखेसो रहेको छ। गत वर्ष धार्नीको दुई सय रुपैयाँमा बिक्री भएको थियो। यस वर्ष १०० देखि १२० रुपैयाँसम्म मूल्य तोक्ने गरेको भीमाद नगरपालिका–४ का तुलबहादुर थापाले जानकारी दिए।
पाँच रोपनीमा अदुवा लगाउँदै आएका थापाले भने, ‘गत वर्ष दुई लाख मूल्य बराबरको अदुवा बिक्री गरेको थिएँ।’
भारत निकासीमा बन्द र स्थानीय बजारमा भाउ नहुँदा अहिलेसम्म कृषकको अदुवा बारीमा नै रहेको छ।
जिल्लाका भीमाद र शुक्लागण्डकी, देवघाट, ऋषिङ र बन्दीपुर गाउँपालिकामा व्यावसायिक अदुवाखेतीको लागि पकेट क्षेत्रको रुपमा मानिन्छन्। भारतको मात्रै भरपर्दा कृषकलाई बिक्री गर्न समस्या परेको छ। उनले भने, ‘सङ्कलन, प्रशोधन, भण्डारण र बिक्री सम्बन्धी अध्ययन गरी समाधान गर्न जरुरी देखिएको छ।’
पहाडी क्षेत्रका कृषकका लागि अदुवा मुख्य नगदेबालीको रुपमा लिइन्छ। अदुवाको गत फागुन र चैत महिनामा लगाउने गरिन्छ भने नौ महिनामा तयार हुन्छ। अदुवा पुस र माघ महिनामा खन्ने गरिन्छ। गत वर्ष भारतमा माग धेरै भएकाले मूल्य राम्रो पाउँदा जिल्लामा करीब ५० करोड रुपैयाँ बराबरको अदुवा बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
पहाडी क्षेत्रको मुख्य बालीको रुपमा रहेको अदुवा खेतीको बजारीकरणको सहज र उपयुक्त वातावरण बनाउन मागसमेत गरिएको छ। यस खेतीको उत्पादनमा वृद्धिका लागि बजारको सुनिश्चिता, प्राविधिक प्ररामर्श, तालीम, गोष्ठी र उन्नत बिउबिजन उपलब्ध गराउन सके अदुवाबाट राम्रो आम्दानी गर्न सकिने अदुवा उत्पादक कृषक बताउँछन्।
पाखो बारीमा हुने घैया धान, मकै, कोदोखेतीभन्दा अदुवाबाट आम्दानी धेरै लिन सकिने भएकोले कृषकको आर्कषण बढेपनि भारतमा माग नभएको समयमा समस्या पर्ने गरेकोले प्रशोधन उद्योग खोलेर औषधि, सुठो, जुस बिक्री गर्नुपर्ने अदुवाका व्यापारी मोहन थापा मगरले जानकारी दिए।
विशेषगरी वर्षेनी ठूलो मात्रामा भारत निर्यात हुने अदुवा यस वर्ष निकासी नहुँदा समस्या देखिएको उनले जानकारी दिए। यस्ता समस्या आगामी वर्ष पनि पर्न सक्ने भएकोले स्वदेशमै कसरी खपत गर्ने भन्ने बारेमा सरकारले ध्यान दिनुपर्ने उन बताए।
न्यून सङ्ख्या कृषकले आफ्नो घर व्यवहार मिलाउन अदुवा खनेर स्थानीय बजारमा सस्तो दरमा बिक्री गर्ने गरेको सो केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। भारतमा कम उत्पादन भएको बेला नेपाली अदुवाको माग धेरै हुनुका साथै उचित मूल्य पाउने र भारतमा उत्पादन बढेको बेला यहाँको अदुवाको मूल्य ह्वात्तै घट्ने गरेको उनले बताए।
जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ५१० हेक्टर जमीनमा अदुवाखेती भएकोमा सात हजार ३८० मेट्रिक टन उत्पादन भएको थियो। त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा ५३० हेक्टर जमीनमा खेती गरेकोमा सात हजार ७४९ मेट्रिक टन उत्पादन केन्द्रले जनाएको छ।
अदुवा खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि किसान यस खेतीतर्फ आर्कर्षित बन्दै गएका थिए।

प्रतिक्रिया