सिंहदरबारको पुनर्निर्माण सकियो, प्रधानमन्त्रीले भोलि उद्घाटन गर्ने
काठमाडौं । भूकम्पले क्षति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण सकिएको छ । पुनर्निर्माण सकिएको पश्चिमबाहेकका तीन वटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार (भोलि) उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ ।
भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (एनआरए) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षित रूपमा पुनर्निर्माण गरिएको बताए ।
‘हामीले मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुने गरी पुनर्निर्माण गरेका छौँ । साथै, अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा रहने गरी अहिलेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सङ्गठन संरचनाअनुरुप कार्यकक्ष तथा बैठक कक्षहरु निर्माण गरिएको छ’, उनले भने।
उद्घाटन हुन लागेका मोहडाहरू २०३० सालमा आगलागी भएपछि २०३७ सालमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरू प्रयोग गरी पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको थियो । भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका साथै कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणाली जडान गरिएको छ ।
सिंहदरबार पुनर्निर्माणको कार्यान्वयन गरिरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत यी मोहडाको पुनर्निर्माणमा भ्याटबाहेक ८७ करोड रुपैयाँ खर्च भएको छ ।
उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु जस्तैः– सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ हरू प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रबलीकरण गरिएको उनले जानकारी दिए । निर्माण कम्पनी शर्मा न्यू टेक्निकलले पहिलो चरणको काम गरेको हो भने शर्मा माइक्रोटेक न्यू टेक्निकल जे.भी. ले दोस्रो चरणको काम गरेको हो ।
पश्चिम मोहडा प्रबलीकरण चल्दै
आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्रीहरु प्रयोग गरी प्रबलीकरण भइरहेको छ । यो भागलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गरी पुनर्निर्माण गर्ने विषयमा आवश्यक अध्ययन तथा विज्ञहरूबीच छलफलले समय लिएको थियो ।
सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरूपमै बचाउन प्रबलीकरण नै गर्न उपयुक्त भएको निष्कर्ष आएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्रबलीकरण गर्ने काम भइरहेको छ ।
प्रतिक्रिया