आगामी चैतदेखि राति साढे १२ बजेपछि उडान नहुने

नेपालखोज २०७७ फागुन ३ गते ९:०७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आगामी चैतदेखि मध्यराति साढे १२ बजेबाट विमानस्थल बन्द गर्ने भएको छ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानको संख्यामा अत्यधिक गिरावट आएपछि राति ३ बजेसम्म सेवा दिँदै आएको विमानस्थलले अगामी चैत १५ गतेदेखि राति साढे १२ बजेपछि बन्द गर्ने निर्णय गरेको विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए ।

अहिले अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि मध्यरात ३ बजेसम्म २१ घण्टा सञ्चालनमा छ । यससँगै मध्य राति काठमाडौंबाट दोहा, दुबई र जापानको नारिता उडान गर्ने क्रमशः कतार एयर, हिमालय एयरलाइन्स, एयर अरेबिया र नेपाल वायुसेवा निगमले आफ्ना रात्रिकालीन उडानको समय सार्नुपर्नेछ ।

कोरोना महामारीअघि दैनिक दुईतर्फी ८० हाराहारी उडान हुँदै आएकामा अहिले दैनिक ३० हाराहारी मात्रै अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । नेपालसहित १५ मुलुकका ३० वटा वायुसेवाले विभिन्न २१ वटा अन्तर्राष्ट्रिय गन्तव्यका लागि उडान अनुमति लिएका छन् । तर, १४ वटा वायुसेवाले नियमित उडान थालिनसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए ।

थाइल्यान्डको थाई एयर, थाई लायन, हङकङको ड्रागन एयर, बंगलादेशको विमान बंगलादेश, मलेसियाको मालिन्दो र मलेसियन एयरले यात्रु अभावकै कारण नियमित उडान थालिसकेका छैनन् ।भुटानका ड्र्युक एयर र भुटान एयरलाइन्स, चीनका एयर चाइना, चाइना इस्टर्न, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स, भारतका इन्डिगो र भिस्ताराले पनि नियमित उडान सञ्चालन गरेका छैनन् ।

प्रतिक्रिया