कांग्रेस र प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश १ सरकारको तेस्रो वार्षिकोत्सव बहिस्कार

नेपालखोज २०७७ फागुन ३ गते ११:०२

विराटनगर । प्रदेश १ सरकारले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ भने नेकपा प्रचण्ड–नेपाल समूहले अघोषितरुपमा बहिस्कार गरेको छ ।

सोमबार मुख्यमन्त्री कार्यालयमा मनाइएको वार्षिकोत्सवमा नेपाली कांग्रेस र प्रचण्ड–नेपाल समूह सहभागी भएन ।

प्रचण्ड–नेपाल समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए ।

त्यस्तै वार्षिकोत्सवमा कांग्रेसले पनि सहभागिता जनाएको छैन । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले पार्टीको कार्यक्रम भएकाले सहभागी नभएको बताए ।

संसद् छल्दै हिँडेका कारण पार्टीकोतर्फबाट सहभागिता नभएको उनको भनाइ छ । तर, कांग्रेसबाट सांसद विन्दिया कार्की सहभागी भएकी छन् ।

कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका छन। मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सफल रहेको दाबी गरे।

प्रदेश १ का मुख्यमन्त्रीविरूद्ध उनकै दलले सदनमा अविश्वास प्रस्ताव दर्ता गरेपछि सरकार पक्षले नै प्रदेश सभा अवरोध गर्दै आएको छ। त्यसयता ओली पक्ष प्रदेशमा एक्लिँदै गएको छ।

प्रतिक्रिया