शुक्रबार, जेठ ३, २०८२

ट्राफिक व्यवस्थापन सहज बनाउन थप ‘ट्राफिक स्वयंसेवक’ परिचालन

नेपालखोज २०७७ फागुन ३ गते २२:०५

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ट्राफिक स्वयंसेवक परिचालन गरेको छ । महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० जना ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरेर काठमाडौँका विभिन्न चोक, जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरेको महाशाखाका प्रमुखप्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

काठमाडौँ उपत्यकाको सवारी चाप हुने तथा बढी भीडभाड हुने स्थानमा सहजर सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको उनले बताए ।

महाशाखाले स्वयंसेवकलाई १० दिनसम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ । स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै नियम पालना गर्न सन्देश प्रवाह गर्ने एसएसपि भट्टराईले बताए ।

स्वयमसेवक परिचालनबाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र आम सडक प्रयोगकर्तालाई सहजता मिल्ने उनको विश्वास छ ।

उपत्यकामा वर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदल यात्रुहरु दुर्घटना परेर अनाहकमा ज्यान गुमाउनुको साथै अंगभङ्ग हुने गरेका छन् । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाहि तरिकाले सडक पार गर्ने र जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाले जनाएको छ ।

यस अघि महाशाखाले नेपाल स्काउट, युवा विद्यार्थीलाई समेत प्रशिक्षण दिई विभिन्न चरणमा ट्राफिक स्वयमंसेवक परिचालन गरिएको र त्यसको प्रभावकारितासँगै यसलाई निरन्तरता दिएको बताएको छ ।

प्रतिक्रिया