पाटेबाघ देखिन थालेपछि थप सतर्कता
कैलालीको सामुदायिक वनमा पाटेबाघको चलखेल बढेपछि सुरक्षा सतर्कता बढाइएको छ । यस क्रममा पाटेबाघले आइतबार एक महिलाको ज्यानसमेत लिइसकेको छ । बाघले मान्छेमाथि आक्रमण गर्नसक्ने अवस्थालाई मध्यनजर गरेर बाघ देखिएको क्षेत्र र सो आसपासमा सुरक्षा सतर्कता बढाइएको हो ।
शुक्रबार मात्रै पाटेबाघले कैलारी गाउँपालिका–८, दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो । सीताकुवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी घाइते भएका छन् । यसैगरी शनिबार मान्छे रहेकै ठाउँमा बाघ महेन्द्र राजमार्गमा निस्केको थियो । सोही दिन गौरीगङ्गा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा चराउन लगेको बाच्छो मारेर खाएको छ ।
बाघको चलखेल बढेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको सामुदायिक वन समन्वय समिति मसुरियाका सदस्य गोविन्द शर्मा लामिछानेले बताए । सबै वनमा मान्छेको प्रवेशमा रोक लगाइएको उनले उल्लेख गरे । “विवाहको बेला भएकाले मान्छे सालको पात टिप्नका लागि जङ्गलभित्र जाने गरेका छन्,” उनले भने, “बाघ देखिन थालेपछि समितिले वनभित्र पस्न पूर्ण रूपमा बन्देज लगाउनुका साथै सबैतिर सतर्कता बढाएको छ ।”
बाघले मान्छे वा पशुमाथि आक्रमण गर्नसक्ने र तस्कर वा सिकारीले बाघ मार्नसक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता बढाइएको छ । बाघ जोगाउनका लागि सामुदायिक वनका सदस्यलाई परिचालन गरिएको छ । शनिबार क्यामेरा ट्र्यापिङ गर्न गएका बेला बाघ नजिकै आएपछि रुखमा चढेर लामिछानेले मोबाइलमा भिडियो र तस्बिर कैद गरेका थिए ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया