उपत्यकामा यसरी मनाइयो श्रीपञ्चमी (फोटोफिचर)

काठमाडौं । वाणी तथा विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आराधना गर्दै मंगलबार मुलुकभर श्रीपञ्चमी मनाइएको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ–आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो ।
यो दिन विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो ।

प्रतिक्रिया