‘भागरथी घटनामा निर्मलाको जस्तो कमजोर अनुसन्धान नहोस्’

काठमाडौं । महिला कानुन व्यवसायीहरूले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृह मन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल बार एसोसिएशन महिला समितिका पदाधिकारीहरूले मङ्गलबार गृह मन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्नेमाथि अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित तथा उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।
नेपाल बार एसोसिएशनकी उपाध्यक्ष एवं नेपाल बार एसोसिएशन महिला समितिकी अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको सम्बन्धमा घटेको घटनालगायत देशव्यापीरूपमा भएका बलात्कारका घटनाहरूको सुक्ष्म अध्ययन गरी अपराधीलाई कानुनी कारबाही गर्न माग गरिएको बताए।
भेटमा गृह मन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरू छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन कोसिस गरेको अध्यक्ष बस्यालले बताए।
महिला कानुन व्यवसायीहरूले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुसन्धान नगर्नसमेत गृहमन्त्री थापा समक्ष माग गरेका छन् । उनीहरूले बालबालिका तथा महिलाहरूमाथि भइरहेको शृङ्खलाबद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्याका बारेमा समेत चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया