म्यानमारकी विपक्षी नेतृ सुकीमाथि अर्को आरोप

काठमाडौं । म्यानमारकी विपक्षी नेतृ आङ सान सुकीमाथि अर्को आरोप लगाइएको छ । भिडियो लिङ्कमार्फत अदालतमा हाजिर गराइएको दिन सुकीविरुद्ध दोस्रो आरोप लगाइएको हो ।
यसअघि सुकीविरुद्ध आयात–निर्यात कानुनलाई तोडेको, गैरकानुनी रूपमा सञ्चार उपकरणहरू कब्जा गरेको, देशको प्राकृतिक विपद् कानुनको उल्लङ्घन गरेको लगायतका आरोप लगाइएको थियो ।
मङ्गलवार जारी गरिएको आरोप केसँग सम्बन्धित छ भन्नेबारे खुलाइएको छैन । यसैबीच म्यानमारमा सैन्य ‘कू’ को विरोधमा प्रदर्शन जारी रहँदा त्यहाँको सेनाले नयाँ चुनाव गराउने र सत्ता त्याग्ने भन्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्याएको छ ।
सैन्य प्रवक्ता ब्रिग गेन ज मिन टनले विना कुनै प्रमाण चुनावमा धाँधली भएको दाबी गर्दै सेनाले सत्ता हातमा लिएको बताए । गएको फेब्रुअरी १ तारिखमा सैन्य ‘कू’ पछि म्यानमारमा ठूलो सङ्ख्यामा नागरिकहरु सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शन चर्कँदै गएपछि सेनाले सडकमा आफ्नो उपस्थिति बढाएको छ र केही दिनयता कैयौँ सहरमा बख्तरबन्द गाडी परिचालन गरेको छ ।
प्रतिक्रिया