खुलामञ्चमा चल्यो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा डोजर चलाएको छ । खुलामञ्चलाई खुला गर्ने अभियान थालेको महानगरपालिकाले आज (बुधबार) बिहान डोजर लगाएर टहराहरु भत्काएको हो ।
राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो ।
खुलामञ्चमा विगत सार्वजनिक सभा समारोह हुने गर्दथ्यो । तर, अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ध्यान नदिई सडकमा आमसभा गर्ने गरेको भन्दै पछिल्लो समय सरकारको चर्को आलोचना भएको थियो ।

महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न चरणमा पुगेपछि आजबाट खुलामञ्चलाई खुला गर्ने अभियान थालेको बताए । उनले विस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिए ।
काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयरज्यूको निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको उनले बताए ।
पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, -याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भइ महानगरपालिकाले अझ छिटोभन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको बताए ।

प्रतिनिधिसभा विघटन पछि विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूह र ओली समूहले सडक केन्द्रित शक्ति प्रदर्शन, विरोध सभा गर्दै आएको छ ।
प्रतिक्रिया