बिहीबार, मंसिर २७, २०८१

पत्रकारिता क्षेत्रका विकृति, विसङ्गति हटाउन केन्द्रित छु : मन्त्री गुरुङ

नेपालखोज २०७७ फागुन ५ गते २१:००

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसङ्गति हटाइ सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।

बुधबार नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाइ गरिमालाई उच्च राख्नुपर्ने बताए । पत्रकारिता क्षेत्रमा रहेका विकृति, विसङ्गति र अनुशासनहीन गतिविधिहरूलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उनको भनाइ छ ।

संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफूले सम्मान गर्ने भन्दै उनले सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शङ्का नगर्न पनि आग्रह गरे।

उनले पत्रकारहरूले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफूले ध्यान दिएको बताए । प्रेस पास नवीकरण हुलाक कार्यालयबाटै गर्न सकिने निर्णय गराएको उनको भनाइ छ । प्रेस पास वर्षैपिच्छे नवीकरण गर्ने व्यवस्थाको अन्त्य गर्दै प्रेस पासको अवधि न्यूनतम पाँच वर्ष पुर्‍याउनका लागि मन्त्रालयको तर्फबाट प्रक्रिया अगाडि बढाउने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया