अवहेलना मुद्दाको जवाफ दिन सर्वोच्च पुगे प्रधानमन्त्री ओली

नेपालखोज २०७७ फागुन ६ गते १२:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालत पुगेका छन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।

म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत गएका हुन् । प्रधानमन्त्री आउने भएपछि सर्वोच्च अदालत परिसरमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका थिए ।

अवहेलना मुद्दा लगाइएका चार पूर्वप्रधानन्यायाधीशले भने अदालतमै म्याद बुझेर सोमबार लिखित जवाफ दिएका छन् ।

प्रतिक्रिया