शनिबार, वैशाख १३, २०८२

तुलसी दिवसको ‘नेपाली लोककथा’ सार्वजनिक

नेपालखोज २०७७ फागुन ६ गते १५:४३

काठमाडौँ । लोक साहित्य तथा संस्कृति अन्वेषक तुलसी दिवसको प्रसिद्ध लोककथा संग्रह ‘नेपाली लोककथा’ सार्वजनिक भएको छ ।

बुक–हिल पब्लिकेसनले ‘क्लासिक सिरिज’ अन्तर्गत प्रकाशन गरेको यस पुस्तकमा नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने विविध जातिहरू तथा नेपालबाहिर बसोबास गर्ने नेपालभाषीका जनजीवनमा प्रचलित १२२ वटा लोककथा समेटिएको छ ।

पुस्तकबारे लेखक, संकलक तथा सम्पादक तुलसी दिवस भन्छन्, ‘पञ्चायतकालमा सत्ताको कहर खप्दै करिब एक दशकभन्दा लामो समय लगाएर संकलन र सम्पादन गरिएको यो पुस्तकमा लोककथाको स्थान, जाति, वर्ग, भाषा आदिको आधारमा विश्वप्रसिद्ध लेखक र चिन्तकका सिद्धान्तलाई आधार मान्दै वैज्ञानिक विश्लेषण र वर्गीकरण गर्ने कोसिस गरेको छु ।’

सांस्कृतिक, एतिहासिक, सामाजिक, अर्ती–उपदेश, ठगी–चलाखी, लोभी–कन्जुस्याइँ, विश्वासघात, पशुपक्षी, भूत, राक्षस, परी, जादु, दैवी, बहादुरीलगायतका विषयका लोककथाहरूमा स्थानीय भाषा, लवज र लोकजीवनको चित्रण गरिएको छ ।

बढ्दो आधुनिकी र यान्त्रीकरणको युगमा लोककथाको यो पुस्तकले पाठकलाई आफ्नो अतीततिर फर्काउन र आफ्नो आदि–इतिहास बुझ्न मद्दत गर्ने र सामान्य पाठकदेखि प्राज्ञिक वर्गका निम्ति पनि यो पुस्तक संग्रहणीय रहेको प्रकाशक बुक–हिल पब्लिकेसनले जनाएको छ ।

प्रतिक्रिया