राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र जापानका राजदूतबीच शिष्टाचार भेट

नेपालखोज २०७७ फागुन ६ गते १६:३३

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले शिष्टाचार भेटघाट गरेकाछन । राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनु अघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाई भेट गरेका हुन ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताए । करिब एक वर्षदेखि कोरोना भाइरस महामारिका कारण विश्वभरका राजनीतिक तथा आर्थिक गतिविधिमा अवरोध भएको बताउँदै उनले अब खोप लगाउन थालेपछि सहज हुने विश्वास व्यक्त गरे ।

‘जापान सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिएसँगै यस रोगविरुद्धको लडाइँमा छिट्टै नै महत्वपूर्ण जित हासिल गर्ने अपेक्षा गर्दछु,’ उनले भने । जापान पाँच दशकदेखि नेपालको भरपर्दो विकास साझेदार रहेको बताउँदै उनले जापानको सहयोगमा निर्माणसम्पन्न विपि राजमार्ग, निर्माणाधिन तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्गलगायतका योजना नेपाली जनताले सम्झिरहने बताए ।

‘पूर्वाधार विकाससँगै गरिबी निवारण, कृषि तथा साना र मझौला उद्यम, स्वास्थ्य, शिक्षाको क्षेत्रमा जापानको सहायता महत्वपूर्ण रहिआएको उनले बताए । त्यसैगरी नेपालबाट गएका दक्ष कामदार, विद्यार्थी र त्यहाँ व्यवसाय गरेर बसिरहेका नेपाली तथा जापनबाट नेपाल आउने पर्यटक, स्वयम्सेवकमार्फत दुई देशबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताए ।

उनले नेपालको संघीय संसद र जापानको संसदबीच पनि सुमधुर सम्बन्ध रहेको बताउँदै समय–समयमा हुने भ्रमण आदान–प्रदानले सम्बन्धलाई प्रगढ हुन सहयोग पुगेको बताउँदै उनले भने, ‘अहिलेको महामारी साम्य भई आवतजावत सहज भएपछि जापानको हाउस अफ् काउन्सिलरका प्रेसिडेन्टलाई नेपाल भ्रमणको निम्ता दिन चाहन्छु ।’

भेटका अवसरमा राजदूत मासामिची सइगो नेपाल र जापानबीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताए । उनले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान–प्रदान भइरहेको बताए ।

प्रतिक्रिया