सोमबार, मंसिर १७, २०८१

दक्षिण एसियाली मुलुकहरूलाई एकजुट हुन भारतीय प्रधानमन्त्री मोदीको आह्वान

नेपालखोज २०७७ फागुन ६ गते १७:३८

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरूबीच थप एकता हुनुपर्ने बताएका छन् । कोरोनाभाइरस व्यवस्थापन सम्बन्धी एक कार्यशालालाई सम्बोधन गर्दै बिहीवार उनले यो कुरा राखेका हुन् । कार्यशालाको शीर्षक ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, असल अभ्यास र आगामी बाटो’ हो ।

नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, मरिसस र सेसेल्सले यस बैठकमा भाग लिएका थिए । मोदीले हिन्दीमा नभई अंग्रेजीमा उक्त कार्यशालालाई सम्बोधन गरेका थिए । उनले कोभिड–१० को व्यवस्थापनमा भारतको प्रयासको प्रशंसा गरेका थिए ।

‘हामीले कोभिड १९ आकस्मिक कोष बनाएर महामारीविरुद्ध लड्नले खर्च जुटायौं । हामीले आफ्ना स्रोत, औषधि, पीपीई, जाँच उपकरण र महत्त्वपूर्ण ज्ञान पनि साझा गर्‍यौं,’ उनले भने ।

क्षेत्रीय एयर एम्बुलेन्स प्रणालीका विषयमा कुरा गर्दै मोदीले भने, ‘हाम्रा नागरिक उड्डयन मन्त्रालयहरूले स्वास्थ्य आकस्मिकताका सन्दर्भमा क्षेत्रीय एयर एम्बुलेन्सका लागि सहमति गर्न सक्छौं ? कोभिड खोपको प्रभावकारिता सम्बन्धी आँकडा मिलान गर्ने, संकलन गर्ने क्षेत्रीय मञ्च बनाउन सक्छौं ? भविष्यमा महामारीहरूको रोकथामका लागि प्रविधिद्वारा सञ्चालित संक्रामक रोग अध्ययनलाई प्रोत्साहन गर्ने क्षेत्रीय सञ्जाल बनाउन सक्छौं ?’

मोदीले दक्षिण एसियाली क्षेत्रका सबै मुलुकलाई एकताबद्ध गर्ने तत्त्वमा जोड दिनका लागि आग्रह गरे । गरीबी, जलवायु संकट र निरक्षरता जस्ता साझा समस्याविरुद्ध संयुक्त लडाइँ गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया