कोरोनाविरुद्धको खोप किन्‍न भारतीय कम्पनीलाई ९३ करोड भुक्तानी

नेपालखोज २०७७ फागुन ६ गते १७:४५

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोप खरिद गर्न भारतको सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको छ ।

मन्त्रिपरिषद बैठकले खोप खरिद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेको भोलिपल्ट आज (बिहीबार) स्वास्थ्य सेवा विभागले कोभिशिल्ड खोप खरिदका लागि रकम भुक्तानी गरेको हो ।स्वास्थ्य शेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सरकारको निर्णयअनुसार सेरमलाई रकम भुक्तानी दिएको बताए ।

सेरमले दुई हप्ताभित्र खोप पठाउने बताएको छ र उक्त खोप आएपछि फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउन सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।

उनका अनुसार सेरम इन्ष्टिच्युटसंग प्रतिखोप ४ डलरका दरले सहुलियतमा खोप उपलब्ध गराउने सहमति भएको छ । खोप दुई चरणमा १०र१० लाख डोज उपलब्ध गराउने सेरम इन्ष्टिच्युट अफ इन्डियाको प्रतिवद्धता छ । नेपालको भण्डार क्षमता कम भएकाले एकै पटक खोप आयात गर्दा समस्या हुने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मन्त्री त्रिपाठीका अनुसार सहुलियत दरमा खोप दिन भारत तयार थिएन । सोही कारणले खरिदको विषय टुंगो लाग्न केही समय लागेको थियो । ‘विशेष सम्बन्ध र अनुरोधका कारण खोप सहुलियत दरमा आउन लागेको हो’ मन्त्री त्रिपाठीले भने, ‘खोप अभियान सुरु भएपछि निरन्तर चल्छ ।’

प्रतिक्रिया