५ सय बढी कैदीबन्दीको सजाय मिनाहा, १५ जनालाई आममाफी

नेपालखोज २०७७ फागुन ७ गते १०:४३

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सयभन्दा बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

यस्तै ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिइएको छ ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

यसैगरी १५ जनालाई आममाफी दिइएको छ । विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया