‘राजनीतिक परिस्थितिका कारण मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद्’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र दिवसको सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन् ।
राष्ट्रपति भण्डारीले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अंगभंग भएकाहरुप्रति सम्मान व्यक्त गरेकी छन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाइरहँदा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् रहेको बताएका छन् ।
पटक–पटकको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधान जारी भएपछि मुलुक विकास र समृद्धिको मार्गमा दु्रत्ततर गतिमा अगाडि बढ्नेमा विश्वस्त रहेका जनतामा निराशा, आक्रोश र अन्यौलता छाउनु सुखद पक्ष नभएको उनको भनाइ छ ।
प्रजातन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमार्फत् उपराष्ट्रपति पुनले सो धारणा सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसले संविधानको पालन र संरक्षणका लागि सबैलाई प्रेरणा दिने र मुलुक सही दिशाबाट अगाडि बढ्ने विश्वास लिएको उपराष्ट्रपति पुनले सन्देशमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया