आफन्तले बुझे भागरथीको शव, आजै अन्तिम दाहसंस्कार गरिने

नेपालखोज २०७७ फागुन ७ गते १४:३४

बैतडी । बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । बलात्कारपछि हत्या गरिएको भागरथीको शव १७ दिनपछि आज (शुक्रबार) आफन्तले बुझेका हुन् ।

माघ २१ गते वेपत्ता भएकी भागरथीको शव भोलिपल्ट अर्थात् माघ २२ पालिकाकै वडा नम्बर ७ को खोचलेक–चडेपानी ग्रामीण सडकभन्दा ३० मिटर तल वनमाराको झारीका भेटिएको थियो । २४ गते शवको पोस्टमाटर्म भए पनि घट्नाका दोषी पत्ता नलागुन्जेल शव नउठाउने भन्दै अस्पतालमै रहेको थियो ।

यही बुधबार प्रहरीले घटनामा संलग्न भएको भन्दै उनकै भाइ नाता पर्ने छिमेकी १६ वर्षका एक किशोरलाई सार्वजनिक गरेको थियो । अहिलेसम्मको अनुसन्धान र अभियुक्तले दिएको बयानमा उनले बलात्कारपछि हत्या गरेको खुलेको प्रहरीले दाबी गरेको छ । आफन्त भएकैले यो घटनामा अरूको पनि संलग्नता भएको आशंका गर्दै परिवारले बिहीबारसम्म पनि शव बुझेका थिएनन् ।

अहिलेसम्मको प्रहरीका प्रमाण र अभियुक्तले दिएको बयानमा अहिलेको अभियुक्त दोषी देखिएकाले शव बुझेको मृतकका काका शिवराज भट्टले बताए । प्रशासनसँगको सहमतिमा शव बुझेर महाकाली नदीमा अन्तिम दाहसंस्कारको तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया