मंगलबार, असार १७, २०८२

निर्वाचनको आन्तरिक तयारी पूरा भयो : प्रमुख आयुक्त थपलिया

नेपालखोज २०७७ फागुन ७ गते १५:१७

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् ।

शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पूरा गरेको बताएका हुन् ।

फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरी मतदान स्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाइ छ । निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको बताए ।

उनले भने, ‘आउँदो निर्वाचनको शिलशिलामा पनि हामीले निर्वाचनको आन्तरिक तयारी लगभग पूरा गरेका छौँ। यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ। देशभरी मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिनेछ। त्यसलगत्तै हाम्रा निर्वाचनका कार्यक्रमहरु अगाडी बढ्नेछन्।’

निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्नका लागि सामाजिक सञ्जाल सम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताए ।

उनले भने, ‘हामीले यो वर्ष निर्वाचनमा मिडिया क्षेत्रको भूमिका र विशेषत्ः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति नै तर्जुमा गरेका छौँ। रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ।’

निर्वाचन आयोगले फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते मतदाताहरुले आम निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै वि.सं. २०७३ सालदेखि आजकादिन निर्वाचन दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया