महिला लिग : शतप्रतिशत जितसहित एपीएफ च्याम्पियन

काठमाडौं । २ खेल अगाडि नै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको विभागीय टोली एपीएफले शतप्रतिशत जितलाई समेत कायम राखेको छ ।
दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा बिभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३–० गोलले पराजित गरेसँगै शतप्रतिशत जितको नतिजासँगै एपीएफले उपाधि उचालेको हो ।
मुख्य स्ट्राइकर सावित्रा भण्डारी चोटग्रस्त बनेपछि सुस्ताएको एपीएफ र आर्मीबीचको खेल प्रतिस्पर्धात्मक थियो ।
पहिलो हाफको अन्तिम मिनेटमा सरु लिम्बुले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरी टोलीलाई अग्रता दिलाएकी थिएन् । दोस्रो हाफको सुरुआती समयमा आर्मीले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । उसले गोलका केहि अवसर खेर फालेको थियो ।
८६ औं मिनेटमा एपीएफले अग्रता दोब्बर बनायो । अन्जली योन्जनको क्रस प्रहारमा गोलरक्षक अगाडि बढेको मौका उठाउँदै अनिताको हेडर गोलमा परिणत भएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा सरुले आर्मीकी गोलरक्षक अघि बढेको बेला गोल गर्दै ३-० को जित दिलाइन् ।
पहिलो लेगमा एपीएफले आर्मीलाई २–० ले पराजित गरेको थियो । सात टोली सम्मिलित लिगमा एपीएफले १२ खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा ७७ गोल गर्दा १ गोलमात्र खाएको छ ।
त्यसक्रममा उसले उदयपुरको चौदण्डीगढी नगरपालिकाबिरुद्ध सर्बाधिक २२–० गोलको जित निकालेको थियो ।
प्रतिक्रिया