आइतबार, जेठ ५, २०८२

१७औँ दिन पछि भागरथीको आर्यघाटमा दाहसंस्कार

नेपालखोज २०७७ फागुन ७ गते १७:५४

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दाहसंस्कार गरिएको छ । उनी मृत भेटिएको १७ औँ दिनमा आज आफन्तले शव बुझेर अन्त्यष्टि गरेका हुन् ।

दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा उनको अन्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए । भागरथीको शव आजसम्म जिल्ला बैतडीको शवगृहमा राखिएको थियो । भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागि थिए । शवयात्राका क्रममा रुवाबासी चलेको थियो ।

गत माघ २२ गते वीभत्स र निर्वस्त्र अवस्थमा मृत भेटिएपछि अपराधीको पत्ता लगाउनुपर्ने माग राख्दै आफन्तले उनका शव बुझ्न अस्वीकार गरेका थिए । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो । भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ ।

सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्यामात्रै गरेको बताउँदै आएका थिए तर बिहीबार दिनेशका बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने दिनेशले आफूले नै बलात्कार गरी हत्या गरेको स्वीकार गरेको थियो ।

त्यसपछि मात्रै भागरथीका आफन्तले शव बुझ्न मानेका हुन् । शव बुझ्नुभन्दा पहिला आज बिहान पीडित परिवारले प्रहरी अधिकृत तथा सम्बन्धित निकायलाई जिल्ला प्रशासनमा भेटेर अभियुक्त भनिएका दिनेशले बयान फेरिरहेकाले अझै पनि अनुसन्धान निष्पक्षरुपमा गर्न आग्रह गरेका थिए ।

बुधबार नै भागरथीका दाइ शङ्कर भट्टले दिनेशका विरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट म्याद थप गरी पाँच दिन अनुसन्धानका लागि अनुमति दिइसकेको छ ।

प्रतिक्रिया