ओली समूहमा फर्किए उषाकला राई र शेरबहादुर तामाङ

नेपालखोज २०७७ फागुन ८ गते १३:५५

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद् उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।

प्रचण्ड–नेपाल समूहबाट दुवैजना ओली समूहमा फर्किको प्रदेशसभा सांसद राईले बताए । प्रचण्ड–नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि ओली समूहमा फर्किएको राईले जानकारी दिए ।

पार्टी कार्यक्रमका शिलशिलामा आफु सिन्धुपाल्चोकमा रहेको बताउँदै पूर्वमन्त्री तामाङले प्रचण्ड–नेपाल समूहको दृष्टिकोण गलत भएकाले आफुले केपी ओलीलाई साथ दिने निश्कर्षमा पुगेको बताए ।

संसद विघटन प्रधानमन्त्रीको राजनीतिक कदम भएको बताउँदै नेता तामाङले अदालतले गर्ने फैसला सबैले स्वीकार गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि शुरुमा तामाङ दम्पती ओली समूहको बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड–नेपाल समूहमा फर्किएका थिए ।

तामाङ चुनावमा सिन्धुपाल्चोक२ बाट निर्वाचित भएका थिए । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । राईलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो ।

प्रतिक्रिया