मंगलबार, वैशाख ११, २०८१

नेपाल चेम्बरको ७०औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा नेपाल महिला चेम्बरको रक्तदान कार्यक्रम सम्पन्न

नेपालखोज २०७७ फागुन ८ गते १७:००

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक उत्सवको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शुक्रबार पाटनको मंगलबारमा आयोजित सो कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मल्लले नेपाल महिला चेम्बरले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनले महिला उद्यमशिलता विकाससँगै सामाजिक उत्तर दायित्वलाई पूरा गर्ने निस्वार्थ भावनाका साथ अघि बढेको भन्दै साधुवाद व्यक्त समेत गरे ।

नेपाल चेम्बरको शाखा देशभर विस्तार भएको, अन्तर जिल्ला र नगर स्तरमा व्यवसायिक उत्पादनलाई प्रवद्र्धन गर्न केन्द्रले समन्वयको भूमिका निर्वाह गर्नुपर्ने पनि उनले बताए ।

यसैगरी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला चेम्बरले आयोजना गर्ने हरेक कार्यक्रममा चेम्बर अध्यक्ष एवं वरिष्ठ उपाध्यक्षसहित अन्य नेतृत्वको सहल्लाह र सुझावलाई शिरोधार्य गर्दै अएको बताएकी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेतृत्वबाट सदैव साथ, सहयोग र समर्थन प्राप्त भएको प्रष्ट पारिन् । रक्तदान जीवनदान भएकाले यस्तो पवित्र कार्यले मानव जीवनमा थोरै भएपनि योगदान पुग्ने भएकोले रक्तदान कार्यक्रमको आयोजना गरेको उनले बताइन् ।

त्यस्तै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरको मंगलबजारमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा महिला चेम्बर र नेतृत्व प्रति आभार व्यक्त गरिन् । उनले महिला चेम्बरले प्रभावकारी कार्यक्रम गर्दै आएकोले ललितपुर चेम्बर नेतृत्वसँग सहकार्य गर्दै आपसी हितका लागि काम गर्न तत्पर रहेको बताइन् । ललितपुर पुरातात्विक महत्व बोकेको एतिहासिक धरोहरको क्षेत्र रहेको उल्लेख गर्दै यस क्षेत्रको विकासमा ७० वर्षको पृष्ठभुमी बोकेको गर्विलो संस्था नेपाल चेम्बरले योगदान पुर्याउन सक्ने ललितपुरकी अध्यक्ष शाक्यले बताइन् ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका–१६ का अध्यक्ष निर्मलभक्त शाक्यले समुदायको विकासमा सामुहिक प्रयासले ठूलो महत्व राख्ने बताउँदै महिला चेम्बरको कार्य प्रसंशा योग्य रहेको बताए ।

महिला चेम्बरको गतिविधिलाई नजिकबाट नियालेको बताउँदै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सक्षम र इमान्दारितापूर्वक व्यवसाय गर्न प्रोत्साहित गर्दै आएको बताए ।

नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले आगामी अन्तर्राष्ट्रिय महिला दिवस र चेम्बर ७० वर्ष पुगेको उपलक्ष्यमा मार्च ८, ९ र १० गते महिला चेम्बरले उत्सव तथा मेड इन नेपाल, मेक इन नेपाल–प्रदर्शनी कार्यक्रम गर्ने जानकारी दिइन् ।

त्यस्तै नेपाल महिला चेम्बरकी हेल्थ कमिटी संयोजक स्वरुपा श्रेष्ठले महिला चेम्बरले उद्यमका अलवा स्वास्थ्य क्षेत्रलाई समेत महत्व दिँदै आएको बताइन् ।

कार्यक्रममा महिला चेम्बरका सल्लाहकारद्वय निलम ताम्राकार एवं शान्ति शाक्य, महिला चेम्बरकी मिडिया को–अर्डिनेटर पृथ्वबिन्दु महर्जन, महिला चेम्बरका केन्द्रीय पदाधिकारी एवं सदस्य, नेपाल चेम्बरकी निर्देशक सृष्टि त्रिपाठी, ललितपुर महिला चेम्बरकी अध्यक्ष सबिता सिंह, कार्यसमितिका पदाधिकारी एवं सदस्य, शुभेच्छुकको उपस्थिति रहेको थियो ।

सो रक्तदान कार्यक्रममा महिला चेम्बर, ललितपुर चेम्बर, ललितपुर महिला चेम्बर, ललितपुर युथ चेम्बर सम्बद्ध र शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया