भोली थप १० लाख डोज खोप ल्याइँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि फेरि कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्ने बताएका छन् । आफू नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले भारतसँग किनेको १० लाख डोज खोप आइतवार आइपुग्ने बताए।
यसअघि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । यसैबीच पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो सोमवारसम्म खोप लगाइने भएको छ ।
शनिवारसम्म मात्र खोप लगाउने तालिका रहे पनि थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए। दोस्रो प्राथामिकतामा जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, पालिकाका पदाधिकारी र कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन् ।
डा. गौतमका अनुसार अहिलेसम्म तीन लाख ८४ हजार जनाले खोप लगाइसकेका छन् । सरकारले फागुन २३ वा त्योभन्दा अगाडि नै ६० वर्षभन्दा माथि उमेरका मानिसहरूलाई खोप लगाउने घोषणा गरिसकेको छ ।
यस्तै सरकारले २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउने बताए ।

प्रतिक्रिया