मंगलबार, वैशाख १६, २०८२

प्रदेश १ को प्रदेशसभा बैठक आज, बैठक अवरोध गर्ने ओली समूहको रणनीति

नेपालखोज २०७७ फागुन ९ गते ११:४९

मोरङ । प्रदेश १ को प्रदेशसभा बैठक आज (आइतबार)का लागि बोलाइएको छ । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले प्रदेशसभा बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आजको बैठकमा राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची छ । तर, ओली समूहले आजको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेका हुन् । ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजको बैठक पनि अवरुद्ध गरिने बताए ।अविश्वासको प्रस्ताव जबर्जस्ती अघि बढाइए प्रदेशसभा भंग गर्ने चेतावनी उनले दिएका हुन् ।

‘मुख्यमन्त्रीज्यूले संसदीय दलको विधानबमोजिम गरेको कारबाही सभामुख प्रदीपकुमार भण्डारीले कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘सभामुखज्यूले विधानबमोजिमको कारबाही कार्यान्वयन गर्नुभएन भने नेकपा औपचारिक विभाजनको प्रतीक्षा गर्नुको विकल्प छैन ।’

माघ ७ मा सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीको पत्र पढेर अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरेका थिए । नेकपाकै प्रचण्ड–नेपाल समूह र प्रमुख प्रतिपक्षी कांग्रेसको दबाबका कारण सभामुख भण्डारीले माघ २५ मा दोस्रो बैठक बोलाएका थिए । तर, प्रारम्भ भएको घोषणा गर्न नपाउँदै सत्तापक्षका प्रदेशसभा सदस्यहरूले अवरोध गरेपछि फागुन ९ सम्मका लागि उनले बैठक स्थगन गरेका थिए ।

सरकारविरुद्धको अविश्वासको प्रस्तावलाई प्रक्रियामा लैजानुको साटो ओली पक्षका सांसदले बैठक नै अघि बढ्न नदिने रणनीति लिएका छन् । ओली पक्षले प्रचण्ड–नेपाल पक्षका १६ सांसदलाई संसदीय गतिविधिमा संलग्न हुन नदिने निर्णय गरेको छ भने प्रचण्ड–नेपाल पक्षले ओली समूहका ८ जना सांसदलाई कारवाही गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसको २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना छन् ।

प्रतिक्रिया