आज मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण गरिने

नेपालखोज २०७७ फागुन १० गते १०:५१

सिन्धुपाल्चोक । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबारदेखि पानी हालेर परीक्षण गरिने भएको छ ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो । तर, हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ ।

उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ ।
खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए ।

प्रतिक्रिया