सोमबार, मंसिर १७, २०८१

लुनिभाले सुदूरपश्चिम प्रदेशमा शिक्षाको विकासका लागि शिक्षामन्त्रीसँग अन्तरक्रिया गर्‍याे

नेपालखोज २०७७ फागुन १० गते १४:१९

काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एउटा पृथक पहिचानका साथ लामो समयदेखि सार्वजनिक शिक्षाको सुधार, वाल अधिकारको रक्षा तथा अन्य सामाजिक मुद्दामा वकालत गर्दै आएको सामाजिक संस्था लुनिभा बाल सरोकार समुहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शिक्षामन्त्री र सुदुरपश्चिमका अभियन्ता र शिक्षाविदहरु बीच समग्र सुदुरपश्चिमको शैक्षिक अवस्थाका बारेमा छलफल भएको थियो ।

सुदूरपश्चिम प्रदेशको डडेलधुराको अजेयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहित ३२ वटा विद्यालयका प्रतिनिधिहरुलाई काठमाडौंको नमुना विद्यालयहरुको भ्रमण गराउने क्रममा शिक्षामन्त्रीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले सुदूरपश्चिम प्रदेशको समग्र शिक्षाको विकासको लागि मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । उनले शिक्षा क्षेत्रमा देखा परेको विकृती र बिसङगती हटाउने धारणा राखे ।

नेपालको चालु शिक्षा प्रणालिबाट मुलुकले सोचे जस्तो फड्को मार्न नसक्नेमा उनले जोड दिएका थिए । “शिक्षा प्रणालिमा अमुल परिर्वतन ल्याउनको लागि आवश्यकता अनुसार शिक्षा ऐन २०२८ परिमार्जनको गर्न आवश्यक रहेको छ र त्यसको लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको” मन्त्री श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा डडेलधुरा जिल्लाको गन्यापधुरा नगरपालिका वडा नं ६ का अध्यक्ष चेतराज भट्टले २० देखि ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पुग्न विद्यार्थीहरुले ५ देखि ६ घण्टा सम्मको यात्रा गर्नु पर्ने समस्या सुनाएका थिए । उनले भौगोलिक बिकटताका बारेमा आफ्ना समस्याहरु मन्त्रीलाई सुनाएका थिए ।

सुदूरपश्चिम प्रदेशमा नमुना विद्यालय नभएकाले काठमाडौंका विद्यालयहरुको अवलोकन भ्रमणमा आउनुनै सुदूरपश्चिममा नमुना विद्यालय नहुनुको एक प्रमाण हो । यसैगरी गन्यापधुरा नगरपालिका वडा नं ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक चक्रबहादुर देउवा आफ्नो क्षेत्रको शैक्षिक अबस्थाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा लुनिभा बाल सरोकार समुहका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले डडेलधुरा जिल्लाका प्रतिनिधि तथा विद्यालयका प्रतिनिधिहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरका नमुना विद्यालयहरुको अवलोकन भ्रमण गराई आफ्नो नगरपालिकाका विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा कसरी विकास गर्न सकिन्छ भनि अध्ययन भम्रण गराइएको जानकारी गराए। “शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठसंग गरिएको अन्तरक्रिया कार्यक्रम पश्चातको निश्कर्षहरु आ–आफ्नो नगरपालिकामा कार्यान्वयन गराउने छौं”, निर्देशक नरेन्द्र डंगोलको भनाई थियो ।

संघीय कानुन बन्ने क्रममा रहेकाले प्रदेश र स्थानिय तहले बनाउने शिक्षा सम्बन्धी ऐन बनेको छैन । यसता विविध समस्याहरु रहेको शिक्षा क्षेत्रलाई तिनै तहका सरकारले प्राथमिकता दिनुपर्ने लुनिभा बाल सरोकार समुहका कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले बताए ।

बाल केन्द्रित शिक्षण शिकाईको अवस्था, शैक्षिक सामाग्री, भौतिक पुर्वाधार र विद्यालय व्यवस्थापकीय प्रणालिको विषयमा अध्ययन अवलोकन गर्न नगरपालिकाका प्रतिनिधिहरुलाई भ्रमण गराइएको उनले सो कार्यक्रममा जानकारी दिए ।

गोदावरी नगरपालिका वडा नं ८ स्थित चण्डीदेवी आधारभूत विद्यालय, पाटनढोका स्थित रातो वंगला स्कुल र धुलिखेल नगरपालिका वडा नं ८ स्थित सरस्वती माध्यमीक विद्यालय र बाल अधारभुत विद्यालयको अध्ययन, भ्रमण गर्नेछन् । प्रतिनिधि हरुले आफ्नो क्षेत्रमा देखिएको समस्याका बिषयमा खुलेर आफ्ना कुरा राखेका थिए ।

प्रतिक्रिया