निर्वाचन निर्धारित समयमा नै हुन्छ यसमा आशङ्का गर्नुपर्दैन : ईश्वर पोखरेल

नेपालखोज २०७७ फागुन १० गते १४:४७

चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा निर्वाचन हुने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताए ।

उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको समेत उनले स्पष्ट पारे ।

“निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ । लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरु निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन,” उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया