ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति : उपप्रधानमन्त्री पोखरेल

चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद् विघटनको सम्बन्धमा सर्वोच्च अदालतको फैसला मान्य हुने बताएका छन् ।
ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पोखरेलले सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताएका हुन् ।
‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन,’ उनले भने–‘नेपाली जनताले इच्छाएको पार्टी र प्रतिनिधिलाई विजयी बनाउने अवसर आएको छ । जसले जे भने पनि आखिर सबै चुनावमा जानुको विकल्प छैन ।’
नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने विश्वास व्यक्त गर्दै उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेकपाले नपाएर अरुले सूर्य चिह्न पाउँछन् भनेर हामी विश्वास गर्दनौं ।’
साथै उनले ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति रहेको समेत बताए । प्रचण्डले व्यक्तिगत कुण्ठाका कारण पार्टी फुटेको र यसलाई समयमा उपचार गर्न नसक्दा कार्यकर्ता दुःखी भएकोसमेत मन्त्री पोखरेलको भनाइ छ ।

प्रतिक्रिया