१३ दिनभित्र संसद् बैठक सुरु गर्न सकिने : संसद् सचिवालय

काठमाडौं । सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएसँगै संघीय संसद् सचिवालयले संसद् बैठकको तयारी सुरु गरेको छ । मंगलबार प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरेपछि सचिवालयले संसद् बैठकको तयारी थालेको हो ।
सर्वोच्चको आदेशअनुसार सरकारले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राख्ने दिन तय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिसक्नुपर्नेछ । सरकारको निर्णयका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गर्न सक्ने संवैधानिक प्रावधान छ ।
प्रतिनिधिसभा सचिव गोपालनाथ योगीका अनुसार बैठकको मिति तय भएपछि सचिवालयको जिम्मेवारी पूरा गर्ने बताए । साथै उनले पुसमै हिउँदे अधिवेशनका लागि गरेको तयारीले १३ दिनभित्रै बैठक गर्न सक्ने समेत बताए ।
पुस १७ अघि संसद् अधिवेशन हुने भन्दै सचिवालयले सबै तयारी पूरा गरेको थियो । सचिवालयले सामाजिक दूरी कायम हुने गरी कुर्सी व्यवस्थापन गरिसकेको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेकै दिन प्रचण्ड–नेपाल पक्षले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव गरिएको छ । ९० जना सांसदको हस्ताक्षरसहित उक्त प्रस्ताव प्रतिनिधिसभाको कार्य व्यवस्था शाखामा दर्ता भएको थियो । प्रस्तावको प्रक्रिया अघि बढ्न नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग भएको घोषणा गरेकी थिइन् ।
संसद् नियमित सञ्चालन गर्न ‘बिजनेस’ पनि पर्याप्त रहेको सचिवालयले जनाएको छ । प्रतिनिधि र राष्ट्रिय सभामा गरी ५३ वटा विधेयक रहेको योगीले बताए । प्रतिनिधिसभामा मात्रै ३६ वटा विधेयक छन् ।

प्रतिक्रिया