‘अदालतको फैसलाले बरबाद पारेको होइन, सामान्य रूपमा लिएको छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको हिजोको फैसलालाई आफूले सामान्य रुपमा लिएको बताएका छन् ।
सर्वोच्चको फैसलापछि बुधवार दिउँसो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रूपमा लिएको बताए हुन। उनले भने, ‘मैले प्रधानमन्त्रीमा रहुञ्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन । यो सामान्य कुरा हो । मेरा केही भाइहरूले लड्डु खुवाइ–खुवाइ गरे रे, लड्डु खाएछन् । खुसी भएर, जित्यौँ भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन्, अब हेर्नुछ ।’
त्यस्तै उनले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरू भनी टिप्पणी गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालजस्ता मान्छेहरूलाई सानो–सानो विषयले ठूलै असर गर्ने भएकाले हिजो चितवनमा ‘मुह मिठा’ गरेको भनी प्रधानमन्त्री ओलीले टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरूले भोलि–पर्सिदेखि राजीनामा माग्नेसमेत बताए । तर आफूलाई त्यतातर्फ कुनै चिन्ता नभएको ओलीको भनाइ छ ।
उनले भने, ‘मेरो विचारमा भोलि–पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ । राजीनामा देऊ, राजीनामा देऊ भनेर । यतापट्टि चिन्ता गर्नुपर्दैन । को मान्छे कतिखेर हट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्न सक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ, जिन्दगीको कुनै ठेगान छैन । जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमानदार हुन सक्छ ।’

प्रतिक्रिया