बिहीबार, वैशाख १३, २०८१

नेकपा ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्ने नेकपा मसालको दाबी

नेपालखोज २०७७ फागुन १३ गते १४:४२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र नेपाली कांग्रेस गठबन्धनको सरकार बन्ने बताएका छन् ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्ने सिंहले दाबी गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसीसी पारित गर्ने पक्षमा रहेको समेत उनले बताए । ‘एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ । एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा हुन्छ, त्यसैले पारित हुन नदिन त्यतातिर ध्यान दिनुपर्छ,’ उनले भने ।

अब नेपालमा भारत, अमेरिकालगायत विदेशी शक्तिको चलखेल बढ्ने बताउँदै सिंहले संसद् विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको विश्लेषण समेत गरेका छन् ।

प्रतिक्रिया