अख्तियारलाई निजी क्षेत्रसमेत हेर्न दिने कानुन तत्काल संशोधन नहुने
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रसमेत हेर्ने गरी कानुन संशोधन गर्न लागेको विषयमा नेकपामा विरोध भएपछि त्यसलाई तत्काल रोक्ने सहमति बनेको छ ।
नेकपाको स्थायी कमिटी बैठकमा उक्त विषयमा नेताहरुले कुरा उठाएपछि तत्काल राष्ट्रिय सभामा पेश भएको विधेयक अगाडि नबढाउन निर्देशन दिइने सहमति बनेको हो ।
वरिष्ठ नेता झलनाथ खनालले संविधानभन्दा माथि राखेर अख्तियारलाई अधिकार दिन खोजिएको भन्दै तत्काल त्यसलाई रोक्ने सहमति भएको बताउनुभएको छ । यसैबीच नेकपाका दुइ अध्यक्ष बोलेपछि स्थायी कमिटि बैठक सकिएको छ । बैठकले छलफलका लागि सात एजेण्डा पनि तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध गरी सात एजेण्डा तय भएका छन् ।
अब अर्को बैठक असार १२ गते बस्ने र सबै सदस्यहरुले खुलस्त आफ्ना धारणा राख्ने सहमति पछि बैठक सकिएको हो ।
प्रतिक्रिया