शुक्रबार, वैशाख १४, २०८१

इङ्गल्याण्डसँगको तेस्रो टेस्टमा भारत १० विकेटले विजयी

नेपालखोज २०७७ फागुन १३ गते २०:५५

काठमाडौं । इङ्गल्याण्डसँगको तेस्रो टेस्ट भारतले १० विकेटले जितेको छ । इङ्गल्याण्डले दिएको ४९ रनको झिनो लक्ष्य भारतले एक विकेट पनि नगुमाइ पूरा गर्‍यो । भारतका लागि रोहित शर्मा २५ र शुभमन गिल १५ रनमा अविजित रहे ।

पहिलो पारीमा दुवै टोलीले खराब प्रदर्शन गरेपछि भारत र इङ्गल्याण्डको टेस्ट दोस्रो दिनमै सकिएको छ । यसअघि तेस्रो टेस्टको पहिलो पारीमा भारतलाई एक सय ४५ रनमा अलआउट गरेको इङ्गल्याण्ड ८१ रनमा अलआउट भयो । उसका ज्याक क्राउली, जेम्स एण्डरसन र जोनी ब्रेस्टोले खाता नै खोल्न सकेनन् । अली पोप १२, जोए रुट १९, बेन स्टोक २५ र डोम सिब्ली सात रनमा आउट भए ।

भारतका अक्षर पटेलले पाँच र रविचन्द्रन अश्विनले चार विकेट लिए । यसअघि इङ्गल्याण्डका कप्तान जोए रुट र स्पिनर ज्याक लिच चम्किएपछि भारत एक सय ४५ रनमा अलआउट भयो । जोए रुटले आठ रन दिएर पाँच विकेट लिए भने ज्याक लिचले चार विकेट लिए । यो जितसँगै भारत चार खेलको टेस्ट शृङ्खला दुई–एकले अघि भएको छ ।

प्रतिक्रिया