बिहीबार, वैशाख १३, २०८१

सर्वोच्चलाई जवाफ दिदैँ सभामुखले भने ‘संवैधानिक परिषदको बैठक नै दूषित र कपटपूर्ण छ’

नेपालखोज २०७७ फागुन १४ गते १५:२२

काठमाडौं । संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार लिखित जवाफ पेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुख सापकोटालाई पनि विपक्षी बनाएर रिट दायर गरेपछि सर्वोच्चले जवाफ मागेपछि उनले त्यसको लिखित जवाफ पठाएका हुन् । प्रधानमन्त्री ओलीले मंसिर ३० गते बैठक बसेर विभन्न संवैधानिक निकायमा ३८ जना नियुक्त गरेका थिए ।

सभामुख सापकोटाले आवश्यक गृहकार्य र परामर्शबिना नियुक्त गरेको भन्दै असहमति जनाएको जवाफमा खुलाएका छन् । संवैधानिक नियुक्तिमा संवैधानिक र कानुनी प्रक्रिया पूरा नभएको जिकिर उनले गरेका छन् ।

संवैधानिक परिषदको बैठक नै दूषित र कपटपूर्ण रहेको जिकिर गर्दै उनले उक्त बैठकले गरेका निर्णय बदरभागी रहेको प्रस्ट पारेका छन् ।

सभामुखले अदालतमा पेश गरेको जवाफ झुट ठहरिए कानुन बमोजिम कारबाही सहनसमेत तयार भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया