बिहीबार, चैत १५, २०८०

नेपाल महिला चेम्बरको नेतृत्वमा होटल र्‍याडिसनमा फागुन २४ देखि विभिन्न प्रदर्शनी हुँदै

नेपालखोज २०७७ फागुन १४ गते २१:०४

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस एवं ७०औं नेपाल चेम्बर अफ कमर्सको वार्षिक उत्सवको अवसरमा महिला चेम्बर ट्रेड २०२१ को आयोजना गर्न लागिएको हो । विभिन्न गतिविधिका साथै महिला चेम्बरले उक्त कार्यक्रमको आयोजना गर्ने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

वार्षिक उत्सवका अवसरमा महिला चेम्बरले फागुन २४ गतेदेखि २६ गतेसम्म लाजिम्पाटको होटल र्‍याडिसनमा प्रदर्शनी गर्ने जानकारी दिएको छ । जसमा ८० स्टल राख्ने चेम्बरले जनाएको छ ।

नेपाल महिला चेम्वर, नेपाल चेम्वर अफ कमर्स अन्तरगत महिला उद्यमीहरुको संवर्धन र सशक्तिकरणका लागि स्थापना गरिएको संस्था हो । यसले आफ्नो स्थापना कालदेखि नै महिला उद्यमशीलता विकासका लागि विभिन्न प्रवर्धनात्मक कार्यहरु गर्दै आइरहेको छ ।

नेपाल चेम्बर अफ कमर्सका कार्य समिति सदस्य राष्ट्र भुषण चाकुबजीले महिला चेम्बरले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने, उनीहरुको व्यापार व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम निकै सराहनीय रहेको बताएका छन् । उनले उक्त कार्यक्रममा बढी भन्दा बढी मानिसको अवलोकनको अपेक्षा गरेको भन्दै सम्पूर्ण सञ्चार माध्यमहरुलाई त्यसको प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।

कोरोना संक्रमणका कारण धेरै महिलाको राजगारीमा प्रत्यक्ष प्रभाव पारेको अवस्थामा महिलाहरुलाई थोरै भएपनि प्रोत्साहन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले बताएकी छन् । उनले अवलोकन कार्यक्रम धेरै भन्दा धेरै नागरिकलाई अवलोकनका लागि आग्रह गरेकी छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त कार्यक्रममा विभिन्न विधामा महिला चेम्बरका उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले बताएकी छन् । करिब ३ दिनसम्म चल्ने उक्त कार्यक्रममा महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न वस्तुहरु समेत प्रदर्शनीमा राखिनेछ ।

प्रतिक्रिया