प्रज्ञा प्रतिष्ठानको ‘बालप्रज्ञा’ प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’ को तेस्रो अंक प्रकाशन भएको छ ।
‘बालप्रज्ञा’ को यो अंकमा नेपाली बाल साहित्यका विशिष्ट स्रष्टा शान्तदास मानन्धरको रोचक बालापन समेटिएको छ भने बालबालिकालाई सत्कार्यमा हौसला प्रदान गर्ने खालका कुलमान घिसिङ र स्टेफेन हकिङको उत्प्रेरणामूलक जीवनी प्रस्तुत गरिएको छ ।
बाह्र वर्षमुनिका बालबालिका र सोह्र वर्षमुनिका किशोरकिशोरीहरूको रुचि, भाषिक क्षमता र विषयक्षेत्रलाई समेट्ने खालका कविता, गीत, गजल, कथा, निबन्ध, एकांकी र विविध जानकारी यस अंकमा प्रकाशित छन् ।
‘हाम्रा सिर्जना’ स्तम्भअन्तर्गत बालबालिकाका सिर्जना, ‘हाम्रो कुची’ स्तम्भअन्तर्गत बालबालिकाले बनाएका चित्र, ‘हाम्रो मातृभाषा’ स्तम्भअन्तर्गत बालबालिकाले नै लेखेका मातृभाषाका सिर्जना समेटिएका छन् ।
बालबालिकाको बौद्धिक विकास गर्ने खालका भाषिक खेल तथा कोठेपद प्रकाशित छन् भने ‘अनुभूति’ स्तम्भअन्तर्गत सातै प्रदेशका बालबालिकाका कोरानासम्बन्धी अनुभूतिलाई यहाँ प्रकाशन गरिएको छ ।
स्वास्थ्य सचेतताका लागि डा रवीन्द्र समीरको कोरोना के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने जानकारीमूलक लेख पनि यहाँ समेटिएको छ भने ‘हाम्रो भूगोल’ स्तम्भअन्तर्गत प्रदेश २ को भौगोलिक एवम् सांस्कृतिक परिचयसमेत दिइएको छ ।
प्रतिष्ठानले बालबालिकाको प्रतिभाको सम्मान गरी सिर्जनात्मक विकासको लक्ष्य राखेर बालपत्रिकाको थालनी गरेको हुँदा यसलाई चाँडै नै योजनाबद्ध तरिकाले देशभरिका बालबालिकासम्म पुर्याउने लक्ष्य राखिएको जानकारी पत्रिकाका प्रधानसम्पादक प्राज्ञ डा। देवी नेपालले दिनुभयो ।
प्राडा ध्रुवकुमार घिमिरे कार्यकारी सम्पादक र नवराज रिजाल, गोपीकृष्ण ढुंगाना र देवु लुइँटेल सम्पादक रहेको र राजेश मानन्धरका भावअनुकूल चित्र पत्रिकामा रहेका छन् ।
प्रतिक्रिया