शुक्रबार, वैशाख ७, २०८१

सरकारले फेरि सच्यायो कोरोनाबाट ज्यान गुमाउनेको तथ्यांक, मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

नेपालखोज २०७७ फागुन १९ गते १८:५५

काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्यांक फेरि सच्याएको छ । शव व्यवस्थापनमा खटिएको नेपाली सेना र कोभिड संकट व्यवस्थापन केन्द्रबीचको तथ्यांक फरक भएपछि सेनाको तथ्यांकको आधारमा तथ्यांक सच्याइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।

कोरोनाका कारण भएका मृत्युमा विश्व स्वास्थ्य सङ्गठनले गरेको परिभाषाको आधारमा समायोजन गर्दा ज्यान गुमाउनेको तथ्यांक बढेको पौडेलले बताए। आज दुई सय ३३ जनाको तथ्यांक थपिएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नयाँ परिभाषा अनुसार सरकारले मिल्दाजुल्दा लक्षण भएको र त्यो क्षेत्रमा अरु कसैलाई कोरोना सङ्क्रमण पुष्टि भएको भएमा मृतकको परीक्षण नगरेको भएपनि कोरोनाका कारण ज्यान गएको तथ्यांकमा समेटेको प्रमुख पौडेलले बताए ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए।

आज थपिएकामध्ये काठमाण्डौ उपत्यकाका मात्रै ५६ जना रहेका छन् । काठमाण्डौमा ३९, ललितपुरमा १४ र भक्तपुरमा ३ जनालाई कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ६२ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा सात सय ६६ जना सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये ४२ जना आईसीयू र नौ जनाको उपचार भेन्टिलेटरमा भइरहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया