बुधबार, वैशाख १२, २०८१

राजनीतिलाई सही मार्गमा डोर्‍याउन जनताको साथ चाहिन्छ : नेता सिंह

नेपालखोज २०७७ फागुन १५ गते १९:२७

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्‍याउन जनताको साथ हुनुपर्ने बताएका छन् ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिको नवौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र ‘स्वास्थ्य दर्पण विशेष–४’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक परिवर्तन नभई राजनीतिक परिवर्तनले स्थिरता नपाउने बताए ।

“स्थिरता र समृद्धिको जति भाषण गरे पनि तीन वर्षमा उल्लेख्य काम हुन सकेन, यो बीचमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने देशमा सूचीकृत भयो”, पूर्व उपप्रधानमन्त्री नेता सिंहले भने ।

त्यस्तै, पूर्व सांसद रामहरि खतिवडाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधानको बाटोमा हिँडाएपछि ढिलो छिटो जनमतमै जानुपर्ने बताएका छन् ।

त्यस्तै, गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा र स्वास्थ्यजस्ता मौलिक हकका विषयमा राज्यले सबै जिम्मेवारी लिनुपर्ने बताएका छन् ।चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले निर्धक्कसँग काम गर्ने अवस्था अझै हुन नसकेको बताए । शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक प्रा.डा पुकारचन्द्र श्रेष्ठले चिकित्सकले रातदिन दुःख गरे पनि जस पाउने अवस्था नरहेको बताएका छन् ।

प्रतिक्रिया