बुधबार, वैशाख १२, २०८१

भागरथी हत्या प्रकरणमा आरोपितको तेस्रो पटक म्याद थप

नेपालखोज २०७७ फागुन १६ गते १०:१२

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको हत्या प्रकरणमा आरोपित किशोरको तेस्रो पटक म्याद थप गरिएको छ ।

शुक्रबार बैतडी जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो ।

जिल्लाका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको बताए । आरोपित नाबालक भएकाले २१ दिनभन्दा बढी प्रहरी हिरासतमा राख्न नपाउने प्रावधान भएकाले त्यसभित्रै सबै अनुसन्धान सक्ने गरी काम भइरहेको छ  ।

केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको मृतकको भजाइनल स्वाब, मुखको स्वाब र योनिबाट निस्केको रगतको परीक्षण रिपोर्ट अझैसम्म नआएको प्रहरीले जनाएको छ । रिपोर्ट आएसँगै मिसिलमा प्रमाण थपिने डीएसपी अधिकारीले बताए ।

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्ट दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

गत माघ २१ गते विद्यालयबाट दिउँसो २ बजे घर जान हिँडेकी उनको भोलिपल्ट खोचलेक—चडेपानी ग्रामीण सडकबाट ३० मिटर तल वनमाराको झाडीमा शव फेला परेको थियो । प्रहरीले सोही विद्यालयमै कक्षा ११ मा पढ्ने उनकै १६ वर्षीय छिमेकी भाइलाई घटनाको मुख्य आरोपीका रूपमा प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आरोपितले भागरथीको बलात्कारपछि हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रतिक्रिया