बिहीबार, मंसिर २७, २०८१

जनतालाई सुसूचित गराउने काम गरेको हुँ, यसबाट अदालतको अवहेलना हुन सक्दैन : प्रचण्ड

नेपालखोज २०७७ फागुन १६ गते १३:०८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले हरेक नागरिकले आफ्नो मुद्दामा जितको आशा गर्नु सामान्य मानविय स्वभाव भएको बताएका छन् ।

आइतबार बिहान अदालतको अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च पुगेका प्रचण्डले अदालतको अवहेलना गर्ने कुरा आफू र आफ्नो दलबाट कहिल्यै हुन नसक्ने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोलेको तथा न्यायाधीशहरूलाई लक्षित गरी अभिव्यक्ति दिएको भन्दै आफूविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च पुगेर प्रचण्डले लिखित जवाफ बुझाएका हुन् ।

जवाफमा दाहालले मुद्दाका पक्षले सन्तोष–असन्तोष व्यक्त गर्नु स्वभावितक भएको र यो संविधान प्रदत्त वाक तथा प्रकाशन स्वतन्त्रता रहेको जवाफमा उल्लेख गरेका छन् ।

माघ ९ गतेको आमसभामा आफूले कार्यकारिणी अधिकार प्रयोग गर्नेले संविधानविरुद्धको काम गरेको कुरा जनतालाई स्पष्ट पार्ने सिलसिलामा व्यक्त गरेको भन्दै उनले अदालतलाई धम्की दिएको भन्ने दाबी झूटो भएको जनाएका छन् । ‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारेमा जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ, यसबाट सम्मानित अदालतको अवहेलना हुन सक्दैन,’ प्रचण्डले जवाफ छ ।

‘देशको कार्यकारिणी पदमा बसेका, राज्यका शक्ति, स्रोत र साधाननन सञ्चालन गर्नेले भने अदालतलाई अपहेलना गरेको हुन सक्छ किनकि उ सँग राज्य शक्ति दुरुपयोग गर्ने हैसिया हुन्छ,’ जवाफमा लेखिएको छ–‘हाल म दलको नेता एवं सामान्य नागरिक मात्र रहेको सर्वविदित नै छ ।’
प्रचण्डले आफूविरुद्ध परेको निवेदन सरकारको नेतृत्वले प्रायोजित रूपमै तयार पारेको र उक्त दाबी औचित्यहीन रहेको जनाउँदै खारेज गर्न माग गरेका छन् ।

आइतबार बिहान ११ बजेतिर सर्वोच्च पुगेर लिखित जवाफ दिएका हुन् । प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको थियो । प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया