शुक्रबार, वैशाख १४, २०८१

२०७८ सालमा तीन दसैं

नेपालखोज २०७७ फागुन १७ गते १४:०५

काठमाडौं । विसं २०७८ सालमा तीन दसैं परेको छ । यो वर्ष चैत शुक्ल पक्षमा पर्ने दुई वटा चैत दसैं परेको छ ।

वैशाख ७ गते मंगलबार चैत शुक्ल अष्टमी अर्थात् चैत दसैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत शुक्ल अष्टमी अर्थात् चैते दसैं परेको छ । बडादसैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैं आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ ।

असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कात्तिक कृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलबारदेखि सुरु हुनेछ । दसैं र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।

चैत शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दसैंलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत शुक्ल र आश्विन शुक्लको दसैंलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताए ।

वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दसैं परेको उनले जानकारी दिए । (रासस)

प्रतिक्रिया