बिहीबार, वैशाख १३, २०८१

विकसित मुलुकमा जत्तिकै सक्षम छन् नेपाली महिला

अम्बिका शर्मा २०७७ फागुन १७ गते १४:५३

ऋषिमुनिहरुले नारी जातिलाई अत्यन्त सम्मान गरी मातृशक्तिको रुपमा स्थापना गरेका थिए । यी कुराहरुलाई पुष्टि गर्ने आधारहरु धेरै छन् । हामीले पनि उमामहेश्वरको नाममा होस्, या लक्ष्मीनारायणको रुपमा पहिले नारी जातिको नाम ग्रहण गर्ने गर्दछौं ।

पूजा र कर्मकाण्डमा नारी जातिलाई यसरी सम्मान गरिए पनि व्यवहारमा भने नारीहरुलाई होच्याउने काम बारम्बार भइरहेको छ । यसरी होच्याउने काम सबै क्षेत्रमा लगातार भइरहेको हुन्छ । यसमा राजनीति पनि अछुतो छैन । त्यसरी अपमानित हुनुपरेको एउटी पात्रको रुपमा हालै कोमल ओली देखिइन् ।

कर्तव्यको मामिलामा जागिरे महिलाले पनि घर गएर घरको काम सघाउनुपर्ने हुन्छ । तर, जागिरै नभएको पुरुषले उपरखुट्टी लगाएर टेलिभिजन हेरी टेबुलमा भोजन पाउनुपर्छ । यस्तो किसिमको पुरुषवादी समाजमा हुर्किएका नेतृत्ववर्गले महिलालाई ५० प्रतिशत अधिकार दिन कन्जूस्याईं गर्नु नौलो कुरा होइन । त्यही कडीमा उभिएको पुरुषवर्गले महिलाहरुलाई सफलताको शिखर चुम्दै गर्दा तिघ्रा, पिँडुला आदिका कारण पाएको सफलताको उपमा दिएर होच्याएका हुन् ।

नेपाली सक्सेफुल महिलाहरुलाई पुरुष जातिले ग्ल्यामर भएर सक्सेस पाएको भनेर आरोप लगाउने गर्छन् । कतिपय अवस्थामा घरायसी हिंसाहरुबाट पनि महिलाहरु पीडित हुनु परेका यथार्थहरु छँदैछन् । आफ्नो कार्यगत क्षमताले सफल महिलाहरुलाई पनि अंगप्रर्दशन गरी सफल भएको आरोप लगाउने घटिया सोच नेपाली समाजका पुरुषहरुमा छँदैछ । यो अवस्था हरेक क्षेत्रमा रहेको पाइन्छ । महिलाहरु अलिकति माथि पुगेको खण्डमा विभिन्न धम्की दिने चलन वर्षौंदेखि चलिआएको छ । उनीहरुको क्षमताको कदर नगरी अंगहरुको व्यापारबाट मात्र सफल भइन्छ भन्ने कठोर पुरुष सोच हाम्रो समाजमा व्याप्त छ । यो आइमाई हो यसले के गर्न सक्छे र भन्नेखाले दयनीय सोचले नेपाली महिलालाई प्रताडित गरिएको यथार्थ कसैबाट लुकेको छैन ।

राजनीति र सरकारी सेवामा ५० प्रतिशत अधिकार मागिरहेका महिलाहरुलाई त्यो अधिकार विभिन्न बहानाबाजी गरी दिईएको छैन । पुरुषवादी हैकमवाला सोच नेपाली समाजमा व्याप्त भएकाले यसो भएको हो ।

कर्तव्यको मामिलामा जागिरे महिलाले पनि घर गएर घरको काम सघाउनुपर्ने हुन्छ । तर, जागिरै नभएको पुरुषले उपरखुट्टी लगाएर टेलिभिजन हेरी टेबुलमा भोजन पाउनुपर्छ । यस्तो किसिमको पुरुषवादी समाजमा हुर्किएका नेतृत्ववर्गले महिलालाई ५० प्रतिशत अधिकार दिन कन्जूस्याईं गर्नु नौलो कुरा होइन । यही कारण हो महिलाहरु अधिकारबाट बञ्चित हुनुपरेको । त्यही कडीमा उभिएको पुरुषवर्गले महिलाहरुलाई सफलताको शिखर चुम्दै गर्दा तिघ्रा, पिँडुला आदिका कारण पाएको सफलताको उपमा दिएर होच्याएका हुन् । तर, नेपाली महिला आफैं सक्षम भइसकेका छन् । हरेक क्षेत्रमा नेपाली महिलाले पुरुषको तुलनामा राम्रो काम गरिहेका कारण उनीहरुलाई होच्याउने र निम्सरो साबित गर्ने काम बन्द गरी ५० प्रतिशतको अधिकारलाई सुनिश्चित गरिदिनु राज्यको उत्तरदायित्व हो ।

कोमल ओलीको सन्दर्भमा उनका अन्य क्षेत्रको योगदान र क्षमताको कुरा गर्ने हो भने एउटा पुरुषको भन्दा कत्ति पनि कमी छैन । राजनीतिको क्षेत्रमा उनको क्षमता अझै जाँचिहाल्न मिल्ने खाले नहुन सक्छ । तर, अन्य क्षेत्रमा उनले देखाएको क्षमताले उनी राजनीतिमा सफल हुनै नसक्ने पात्र भने अवश्य नै होइनन् । देशका विभिन्न क्षेत्रमा सक्रिय पुरुषहरुको तुलनामा कोमल महिला भइकन पनि कतै कमजोर छैनन् । कम्युनिष्ट पार्टीमा अन्य महिलाले पाउनुपर्ने अवसर कोमल ओलीले पाइन् भन्ने जुन प्रसंग छ त्यो भने बिचारणीय नै छ । तर, एक महिलालाई पिँडुलाको राजनीति भनेर होच्याउने काम भने विवेकहीन तर्क नै हो ।

नेपाली महिलाको सक्षमता विश्वले नै मनन गरिरहेको छ । त्यो हामीले बिर्सन हुँदैन । सपना रोका मगर, पुष्पा बस्नेतलगायतका महिलालाई विश्वले सम्मान गरिरहेको तथ्यलाई हामीले बिर्सन मिल्दैन । नेपाली महिलाहरु आज कुन क्षेत्रमा सक्रिय छैनन् र ? हाल सेना, प्रहरी, सशस्त्र, शिक्षक, ड्राइभर, सहचालक, पाइलट, डाक्टर, इन्जिनियर, कलाकार, पत्रकार र बैंकर भई नेपाली नारीहरुले देशको र परिवारको सान माथि उठाईरहेको सन्दर्भ छ । देशको राष्ट्रपति नारी छन् । यो सन्दर्भ समग्र नारीशक्तिको वर्गोत्थानको सन्दर्भ हो ।

हरेक परिवारका पुरुष कुनै नारीको जीवनसाथीको रुपमा, कुनै नारीको पिताका रुपमा, कुनै नारीको दाइको रुपमा र कुनै नारीको भाइको रुपमा रहेका हुन्छन् । कुन त्यस्तो पिता होला जो आफ्नो छोरीले देशको सान उँचो बनाएको हेर्न नचाहोस् ? कुनै त्यस्ता दाजूभाइ र जीवनसाथी पनि नहोलान् जोे आफ्नो घरको नारीशक्ति शक्तिशाली भएको हेर्नै चाहँदैन् । तर, परिवारबाट बाहिर आँखा डुलाउने बित्तिकै पुरुषहरुको सोच बदलिई रहेको हुन्छ । नारीहरुको क्षमतालाई पुरुषवर्गले खासै महत्व नदिएको भान यदाकदा हुने गर्छ । त्यसैको एउटा कडी थियो रघुजी पन्तको तर्क । उनले गरेका तर्कहरुमा पिँडुला प्रदर्शन बाहेकका तर्कहरु थिए भने साह्रै मननीय पनि छन् । वर्षौंदेखि पार्टीमा संघर्ष गरिरहेका महिलाहरु जसको कपाल फुलिसक्यो तिनले अवसर पाएका छैनन् यो अर्को तीतो यथार्थ हुँदाहुँदै पनि कोमल ओलीको क्षमतालाई पिँडुला प्रदर्शनको संज्ञा दिनु भनेको निकै गैरजिम्मेवार तर्क हो ।

भारतमा सन् २०१४को चुनावपछि स्मृति ईरानी शिक्षामन्त्री भइन् । स्मृति ईरानीको योग्यता शिक्षामन्त्री बन्न लायक थिएन । मोदीको विश्वासपात्र बनेकी स्मृतिले त्यत्रो ठूलो मुलुकको शिक्षामन्त्री भएर काम गर्नसक्ने अवस्था नै थिएन । पछि उनलाई शिक्षमन्त्रीबाट हटाइयो । यो पद पछि प्रकाश जावडेकरलाई दिइयो । हाल ईरानी महिला तथा बालविकासमन्त्री छिन् । योग्यताको कुरा नै गर्ने हो भने ईरानी कोमल ओलीभन्दा कमजोर छिन् । भारतमै पनि धेरै महिलाहरु छन् जो ईरानीभन्दा योग्य छन् तर तिनलाई माथिल्लो नेताहरुको आशीर्वाद छैन । यस्तो विभेद ठूलो लोकतन्त्र भनिएको देशमा पनि छँदै छ । तर ,ईरानीले महिलाहरुको विकासको निम्ति अरु योग्यहरुको तुलनामा कमजोर काम भने पक्कै गरेकी छैनन् । उनको सराहनीय कार्यको भारतमा धेरै मान्छेहरुले प्रशंसा गरिरहेका छन् । ठाउँ पाएको खण्डमा महिलाहरुले राम्रो काम गरेर देखाउन सक्छन् भन्ने जल्दोबल्दो उदाहरण बनेकी छिन् स्मृति ईरानी ।

जेसिन्डा केट लरेल अर्डर्न न्युजिल्यान्डकी प्रधानमन्त्री छिन् । जो उमेरले त ४१ वर्षकी मात्र भइन् । जसले न्युजील्याण्डको ४० औँ प्रधानमन्त्रीको रुपमा काम गरिरहेकी छिन् । लेबर पार्र्टीको नेताको रूपमा चुनाव जितेर २०१७ बाट कार्यभार सम्हालेकी जेसिन्डाको काम गर्ने शैली सफल भनिएका पुरुष राजनीतिज्ञको भन्दा कमजोर छैन । न्युजिल्याण्डको प्रधानमन्त्रीको रुपमा यिनले गरेको कामको चौतर्फी प्रशंसा भइरहेको छ । कोलिन्दा ग्राबर किटालोभिच २०१५ देखि २०२०सम्म क्रोयसियाकी राष्ट्रपति थिइन् । यिनी २०१८को विश्वकपताका धेरै चर्चामा थिइन् । यिनले आफ्नो देशको सान र गौरवलाई क्रोयसियाले फाइनल खेल्दै गर्दा विश्वको ध्यान खिचेकी थिइन् । एक सफल राजनीतिज्ञको रुपमा कार्यकाल सकेर कोलिन्दा ग्राबर विश्वकै महिला सशक्तीकरणको उदाहरणीय व्यक्तित्व बनिन् । अर्कोतर्फ अमेरिकाको उपराष्ट्रपति बनेकी कमला ह्यारिसलाई अमेरिकी जनताले भावी राष्ट्रपतिको रुपमा हेरिरहेका छन् । यी तथ्यहरुलाई हेर्ने हो भने महिलाहरुले देश र राष्ट्रको गौरव बढाउन पुरुषभन्दा कुनै क्षेत्रमा कमजोर नभएको साबित गरिरहेको छ ।

नेपालमा महिलाहरुको अवस्था विकसित मुलुकमा जस्तो नभए पनि योग्य महिलाको कमी भने पक्कै छैन । यिनलाई पुरुषवादी सोचले कतै न कतै उदाहरणीय काम गर्ने अवसरहरुबाट रोकिरहेको छ । पढेलेखेको महिला पनि घरको भान्छे र गृहिणीको रुपमा सीमित भइरहेको तथ्य असत्य होइन । नेपाली महिलाले पचासप्रतिशत अधिकारको लडाईं लडिरहँदा त्यसलाई कमजोर तुल्याउन असक्षम महिलाहरुलाई अघि सारेर राजनैतिक पार्टीहरुले सक्षमहरुलाई चुप बनाउने खेलो खेलिरहेका छन् । सांसद् बनाइएका माहिलाहरु लिखत हेरेर पढ्न नसक्नेलाई यसकारण बनाईएको छ कि नेपाली नारी असक्षम भएको देखाउनु छ । सक्षम महिलाहरु नाङ्लोमा पसल थाप्न विवश छन् । यो साह्रै दुःखको कुरा हो । वस्तुतः सक्षम महिलाहरुलाई अघि बढ्न दिने वातावरण बन्ने हो भने नेपाली महिलाहरु विकसित मुलुकका महिलाको तुलनामा कुनै कुरामा पछाडि छैनन् । यी कमजोर होइनन् कमजोर तुल्याइएका हुन् । यिनको योग्यतालाई पिँडुलाको राजनीति भनेर खिसिट्यूरी गर्नु मुर्खता मात्र हो ।

प्रतिक्रिया