सोमबार, असार २३, २०८२

राष्ट्रवादी केन्द्र नेपालले फागुन २१ गते देशभर प्रदर्शन गर्ने

नेपालखोज २०७७ फागुन १७ गते १६:३२

काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालले यही फागुन २१ गते शुक्रबार ‘राष्ट्रिय पूँजी र लगानीको सुरक्षासहित वैदिक सनातन धर्म सापेक्ष राष्ट्र नेपाल’ कायम गर्ने लक्ष्यसहित काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

राष्ट्रवादी केन्द्र नेपालका संयोजक चन्द बहादुर थापाले विज्ञप्ति जारी गर्दै यो शान्तिपूर्ण धार्मिक र्‍याली तथा राष्ट्रवादी कार्यक्रम रहेको बताए ।

राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति र जन–जीविनको सवालमा () ओमकार परिवार भित्रका हिन्दु, बौद्ध, किराँतलगायत शिख, जैन र बोन सम्पूर्ण धर्मावलम्बीहरु एकाताबद्ध भई राष्ट्र–राष्ट्रियता तथा आ–आफ्नो सनातन धर्म, संस्कृति, भाषा र सभ्यताहरुको पहिचान कायम गर्न र्‍यालीमा सभागी हुन राष्ट्रवादी केन्द्र नेपालले अनुरोध गरेको छ ।

फागुन २१ गते उपत्यकासहित देशका प्रमुख सहर बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, चितवन, बुटवल, पोखरा, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा एकसाथ शान्तिपूर्ण धार्मिक सांस्कृतिक र्याली तथा कार्यक्रम हुने संयोजक थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उपत्यकामा बानेश्वर, गौशला, सोह्रखुट्टे चोक, कालिमाटी चोक र ललितपुरको पुल्चोकबाट बिहान ११ बजे एक साथ सुरु भएको र्‍याली साढे १२ बजे प्रदर्शनीमार्ग भृकुटिमण्डपमा पुगेर कोणसभामा परिणत हुने छ ।

त्यस्तै र्‍यालीमा सहभागीहरुले वैदिक सनातन धर्म सापेक्ष राष्ट्र नेपाल कायम गर्, राष्ट्रिय पूँजी तथा लगानीको सुरक्षा नीति लागू गर्, संघीयता खारेज गर्, शिक्षा, स्वास्थ्यको सम्पूर्ण जिम्मा राज्यको, योग्यता अनुसार रोजगारको ग्यारेन्टी गर् र प्रत्यक्ष जन–निर्वाचिन कार्यकारी सरकार प्रमुख लागू गर् लगायतका नारा तय गरिएको राष्ट्रवादी केन्द्र नेपालका संयोजक चन्द बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया