मंगलबार, वैशाख ११, २०८१

थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु

नेपालखोज २०७७ फागुन १८ गते १८:५३

काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएको छ ।

मङ्गलवार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा कोभिड–१९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नका लागि प्रक्रिया सुरु गरेको बताएका छन् ।

अहिले मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी एक करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए। स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आउँदा दिनमा खोप अभियान ज्येष्ठ नागरिकबाट सुरु गर्ने बताएका छन्। अग्रपङ्क्तिमा खटेर काम गर्नेहरूलाई पनि कोभिड–१९ को सङ्क्रमणबाट बचाउनुपर्नेमा उनको जोड छ ।

तीन लाख डोज खोप यही हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उनले जानकारी दिए । तर एकैचोटि करोडको सङ्ख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्ने पनि उनले बताए ।

त्यस्तै, स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले कोभिडविरुद्धको खोपका कारण गम्भीर प्रकृतिका असर देखा नपरेको बताएका छन् ।डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताए । १८ वर्षमुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्याङ्क नआएको हुनाले खोप नदिइने उनको भनाइ छ ।

प्रतिक्रिया