चौंरीदेउरालीमा अध्यक्ष कप फुटबल फागुन २८ देखि

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिकामा ‘अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता–२०७७’ हुने भएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमानुसार फागुन २८ गतेदेखि चैत १ गतेसम्म प्रतियोगिता गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष विनोद घिसिङले बताए ।
प्रतियोगितामा प्रत्येक वडाबाट सहभागी हुने छन् । यस पटकको फुटबल प्रतियोगिता वडा नं ३, माझीफेदा खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा प्रत्येक वडाबाट खेलाडी सङ्ख्या, अतिरिक्त र अधिकृतसहित १३ जना सहभागी हुने प्रमुख प्रशासकीय अधिकृत महान्दास लामाले बताए ।
उनका अनुसार यस पटक प्रतियोगितामा पहिलो हुनेले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले रु ५० हजार र तेस्रो हुनेले रु २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता एन्फाको प्रतिनिधिको विशेष उपस्थितिमा र जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया