महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्घाटन

ललितपुर । महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले महानगरीय प्रहरी प्रभाग, बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाट गरेका हुन ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पालले नवनिर्मित भवनको निरीक्षण गर्नुको साथै भवन निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई प्रशंसापत्र तथा प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार प्रदान गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले नवनिर्मित भवनबाट आमनागरिकको सुरक्षा प्राप्ति र स्थानीय जनताको भरोसा केन्द्रको रूपमा स्थापित गर्नसके भवन निर्माणले सार्थकता पाउने उल्लेख गरे । साथै नयाँ भवनबाट उत्कृष्ट प्रहरी सेवा प्रदान भई स्थानीय समुदायको साझेदारीमा समाजमा शान्ति सुरक्षा र सु-व्यवस्था कायम गर्ने कार्यको लागि सहयोगी सिद्ध हुने विश्वास उनले व्यक्त गरेका छन् ।
उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नवनिर्मित भवनबाट प्रहरीले प्रवाह गर्ने सेवा उच्च हुनुपर्ने बताए । साथै ललितपुर महानगरपालिकाले स्मार्ट सिटिको अवधारणा अनुरुप सुरक्षालाई मुल विम्बको रुपमा अवलम्वन गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
उक्त भवन राष्ट्रिय पुनः निर्माण प्राधिकरणको १ करोड ७१ लाख १५ हजार ८ सय ८८ रुपैयाँ ६३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । करिब ४२८२.४८ वर्गफिट क्षेत्रफलमा निर्मित साढे २ तले उक्त भवनमा कार्यालय प्रमुख कक्ष, व्यारेक, भान्साकोठा, थुनुवा कोठा सहित जम्मा ११ वटा कोठा रहेका छन् ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, बिभिन्न सरकारी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ अधिकृतहरू, संघ संस्थाका प्रमुख, स्थानीय तहका प्रमुखहरु, भद्रभलादमी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया